ईद को विशेष शुभकामना !
मोहम्मद आशिक अलि !
संसारभरि छरिएर बसेका मुस्लिम धर्मावलम्बी हरु का २ मुख्य चाड मध्य " ईद उल फित्र " एउटा महान् चाड हो । इस्लाम धर्म ले यस चाडलाई ठूलो महत्व दिएको छ । नबी करिम (صلی اللہ علیہ وسلم) ले भन्नुभयो, “अल्लाहले तिमीहरूकालागि यी दुई दिन ( जसमा मानिस हरु खेल कूद गरेर रमाइलो गर्ने गर्दथे ) को सट्टा यी दुई दिनभन्दा पनि उत्तम दुई दिन ‘अज्हा’ को दिन र ‘फित्र’ को दिन प्रदान गरेका छन् ।” (हदीस)
ईदको आर्थिक पक्ष – सद्का फित्र ः
ईदको अवसरमा गरीबहरूलाई विशेष दान दिइन्छ जसलाई ‘सद्का फित्र’ भनिन्छ । ‘सद्का फित्र’ अदा गर्नु प्रत्येक मुसलमानकोलागि आवश्यक छ ।आजाद,गुलाम,स्त्री,पुरूष,ठूलो,सानो सबै मुसलमान माथि फित्र निकाल्नु अनिवार्य छ।
आमाको पेट भित्र भएको बच्चाको नामको पनी फित्र निकाल्नु मुस्तहब कार्य हो।
तर यस्तो मुसलमान माथि फित्र निकाल्नु अनिवार्य छैन जो ईदको दिन पनि आफ्नो परिवारको पेट भर्न नसक्ने अबस्था छ ।
‘सद्का फित्र’ एक किसिमको दान हो जुन बिपन्न मुस्लिमहरूको अधिकार हो । यो दान ईदको नमाज अदा गर्नुभन्दा पहिले नै गरीबहरूमा वितरण गरिदिनु अनिवार्य हुन्छ । गरीब मुसलमानहरूले पनि ईदको खुशी मनाउन पाउनु ‘सद्का फित्र’ को मूल उद्देश्य हो ।
यसरीनै हामि मुसलमानहरू रमजानका महिनामा जकात निकाल्ने गर्दछौँ । तोकिएको मापदण्ड अनुसार 2.5 प्रतिशतमा निकालिने जकात अनिवार्य दान हो । हामिहरू आफ्नो सम्पत्तिको साढे दुई प्रतिशत धन गरीबलाई दिन्छौँ ।
ईदको नमाज
ईदको नमाज अदा गर्न हामिहरु बस्ती वा शहरबाट ईदगाहमा जम्मा हुन्छौं। ईदगाह उपलब्ध नभएका ठाउँहरूमा मस्जिदमा नै एक भएर पढने चलन छ । र ईदको नमाज़ महिलाहरूका लागि अनिवार्य छैन ।
विशेष तक्वीर :
हामिहरू ईदको दिन ‘अल्लाहु अक्बर, अल्लाहु अक्बर, ला इलाह इल्लल्लाहु, अल्लाहु अक्बर, अल्लाहु अक्बर व लिल्ला हिल् हम्द’ भन्छौँ । यसको अर्थ हुन्छ– ‘अल्लाह सवभन्दा महान् छन्, अल्लाह सवभन्दा महान् छन्; छैन कोही पुज्य सिवाय अल्लाहको; अल्लाह सवभन्दा महान् छन्, अल्लाह सवभन्दा महान् छन्; र सारा प्रशंसा अल्लाहकै लागि हुन् ।’
नयाँ लुगा र खुश्बू
ईदको दिन गरीबहरूको घरमा पनि खुशीको माहौल हुन्छ । नयाँ नयाँ लुगा र खुश्बू लगाउने चलन छ । ईदको दिन नयाँ लुगा र खुश्बू लगाउनु ‘सुन्नत’ पनि हो । ईदको दिन बिहान नुहाइधुवाइ गरी नयाँ नयाँ लुगा र खुश्बू लगाई मानिसहरू ईदको नमाज अदा गर्न ‘ईदगाह’ तिर प्रस्थान गर्छन् । बालबालिकाहरू पनि नयाँ नयाँ पहिरनमा सजिएर ईदगाह पुग्छन् ।र इद को नमाज पढे पछि एक अर्का लाई इद को मुबारक बाद तथा बधाई दिने गर्दछन् ।
#इद_मुबारक

No comments:
Post a Comment